जनकपुरधाम, २ माघ । प्रदेश २ को नामकरण र राजधानीका लागि सभामुख सरोज कुमार यादवको नेतृत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निश्कर्ष निकालिएको छ ।

प्रदेशको नामकरण र राजधानीका लागि गठित विशेष समितिले ६ बुँदे निष्कर्ष सहित आयतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनमा माघको पहिलो सप्ताहमै मतदानमा जान अनुरोध गरिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउनुका साथै मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्षसंगै टाँसिएको कक्षमा गर्न भनिएको छ ।

समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको छ ।

प्रदेशको नामकरणका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेशमा मतदान गर्न सुझाव दिइएको छ भने राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव राखिएको छ । यो प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेको उल्लेख छ ।

राजधानीका लागि विरगञ्ज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने पनि प्रस्ताव समेत गरिएको छ । वीरगञ्ज महानगरपालिकालाई राजधानीको रुपमा समेत प्रस्ताव गरिएको छ ।

सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नाम र राजधानीमाथीको छलफल जारी नै रह्ने बताइएको छ । यद्यपि सोमबार नाम र राजधानीको निक्र्यौल लगाउनका लागि मतदान प्रक्रिया अगाडी बढाउन तयारी समेत गरिदैछ ।

आजको बैठकमा विशेष समितिको प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुबिच मतैक्यता समेत देखिएको थिएन । प्रदेशसभा सदस्यहरुले आ–आफ्नो दलहरुको प्रस्तावमा बल पुग्ने गरी मन्तव्य राखेका थिए ।

जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी तोक्न दलहरुबिच मतैक्यता रहेपनि केही सांसदहरुले भने राजधानी वीरगञ्ज हुनुपर्ने अडान राखेका छन् ।

जसपा र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम मधेश हुनुपर्ने अडान राखेका छन् भने नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले मिथिला भोजपुरा र नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीका सांसदहरुले प्रदेशको नाम जानकी हुनुपर्ने अडान दोर्होयाएका थिए ।

केही प्रदेशसभा सदस्यहरुले भने प्रदेशको नाम मध्यमधेश हुनुपर्नेमा जोड दिएका थिए । यस हिसाबले प्रदेशसभामा नामको सवालमा कुनै पनि प्रस्तावको पक्षमा २ तिहाई बहुमत नपुग्ने देखिएको छ ।

प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ मा सभामुखसहित १०४ जना सांसद छन् । यस हिसाबले दुई तिहाइको संख्या पु¥याउन कम्तीमा ७० जना सांसदको समर्थन आवश्यक देखिन्छ ।

मधेशको पक्षमा जसपाका ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ जना प्रदेशसभा सदस्यहरु छन् । सभामुखले मत बराबर भएको अवस्थामामात्र आफ्नो मत हाल्न पाउने छन् ।

सभामुख सरोज यादवलाई छाडेर मधेशको पक्षमा ६२ जना सांसद रहेका छन् । त्यस्तै, एकजना प्रदेशसभा रहेको नेपाल संघीय समाजवादी पार्टीले नामको सवालमा मधेशमै समर्थन गरेकाले त्यो मत जोड्दा मधेसको पक्षमा ६३ मत पुग्छ । जुन दुई तिहाई भन्दा ७ मतले कम छ ।

बैठक छाडेर मुख्यमन्त्री पार्टीको कार्यक्रममा

आइतबारको बैठकमा प्रदेशको नाम र राजधानीको विषयमा गम्भीर छलफल चलिरहँदा मुख्यमन्त्री लालबाबु राउत आफ्ना दलबल सहित धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । उनी भने प्रदेशको नाम र राजधानीको सवालमा महत्वपूर्ण बैठक चलिरहँदा छलफलमा सहभागी भएनन् ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशको नाम र राजधानीको निक्र्यौल लगाउने विषयमा गम्भिर नरहेको आरोप लगाइन् ।

उनले भनिन्,‘मुख्यमन्त्री राउतका लागि प्रदेशको नाम र राजधानीको विषयमा चलिरहेको महत्वपूर्ण बैठकमा सहभागी हुनु आवश्यक थिएन् । उनका लागि पार्टीको कार्यक्रम नै महत्वपूर्ण छ । मुख्यमन्त्रीका लागि प्रदेशको नाम पाउने विषय महत्वपूर्ण होइन, पार्टीको प्रवेश कार्यक्रम नै महत्वपूर्ण छ ।’

असंवेदनशील माननीय

आइतबारको प्रदेशसभा बैठकमा बोल्ने क्रममा प्रदेशसभा सदस्य रामकुमार यादवले बिचमै फोन उठाएका थिए ।

प्रदेशको नाम र राजधानीको सम्बन्धमा बोल्ने क्रममा उनको मोबाइलमा फोन आउँदा उनले बिचमै फोन उठाएका थिए ।

फोन उठाएर उनले ‘ए भाइ’ भन्दै फेरि फोन काटेका थिए । उनले फोन काट्नेवित्तिकै सबै सांसदहरु हाँसेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरुलाई नहास्न आग्रह गर्दै उनले फेरि बोल्ने क्रम सुरु गरेका थिए ।

बैठकमा अन्य सांसदहरु प्रल्हाद गिरी, करिमा बेगम लगायतकाहरुले समेत आफ्नो मन्तव्यमा असम्वेदनशिलता देखाएका थिए ।

उनीहरुले प्रदेशसभाको रोष्टमबाटै जनकपुरधामको स्थानीयमा शिष्टता नरहेको भन्दै आफ्नो असंवेदनशिलता देखाएका थिए ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा नामकरण र राजधानीमाथि सांसदहरुको छलफल सकेर यसै हप्ता निर्वाचनमार्फत प्रदेशको नाम र राजधानी तोक्ने समतिले निष्कर्ष लगाएको छ ।