मछिन्द्रले बिग्रेड ब्वाइजमाथि ४–० को फराकिलो जित निकाल्यो

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा मछिन्द्र क्लब विजयी भएको छ ।
मछिन्द्रले दशरथ रंगशालामा बिग्रेड ब्वाइज क्लबमाथि ४–० को फराकिलो जित निकालेको हो ।
मछिन्द्रका लागि विमल घर्ती मगरले २ तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक–एक गोल गरे ।
खेलको ५६औं मिनेटमा विमलको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले नै व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।
८४औं मिनेटमा विमलको पासमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए ।
दोस्रो हाफको थप गरिएको समयमा अभिषेकले गोल गर्दा मछिन्द्रले ४–० को फराकिलो जित निकाल्यो ।
जितसँगै मछिन्द्र ९ खेलमा २३ अंकसहित शीर्ष स्थानमा कायम छ । जुन दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको भन्दा चार अंकले बढी हो । बिग्रेड ब्वाइज ६ अंक जोडेर १२औं स्थानमा छ ।
च्यासल युथ क्लबका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय गरिएको खेल भने स्थगित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


