उग्रराष्ट्रवादीहरू नेपाल र भारतबीचको सम्बन्ध बिगार्न लागिपरेका छन : नेता लाल

जनकपुरधाम, १ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता बृषेशचन्द्र लालले आफ्नो स्वार्थसिद्धिका लागि केही उग्रराष्ट्रवादीहरू नेपाल र भारतबीचको सम्बन्ध बिगार्न लागिपरेको बताएका छन् ।
पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका नेता लालले अब स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जानु पर्ने बेला आएको समेत बताएका छन् ।
उनले भने,‘आसन्न निर्वाचनहरुलाई ध्यानमा राखेर जनतालाई भ्रमित गर्ने गराउने धेरै खेलहरु खेलिने छाँटकाँट देखिंदैछ । ती मध्ये उग्रराष्ट्रवादको प्रसार–प्रसार एउटा हो । उग्रराष्ट्रवादीहरू नेपाल–भारतको सम्बन्ध बिगारी जनतालाई भ्रममा पारी राजनीतिक स्वार्थ पूरा गर्ने खेल खेल्दै आएका छन् ।’
‘स्थिति सामान्य र निर्वाचन नरहेको अवस्थामा देशका सबै राजनीतिक दलहरु, नेपाल–भारतको बीचमा रहेको जस्तो सुकै समस्याको कूटनीतिक सम्वादमार्फत समाधान गर्ने भन्दै आए पनि त्यसबारे एक पाइला पनि अघि नसार्ने तर अब चुनाव नजिक आएपछि आफ्नो स्वार्थसिद्धिको निमित्त फेरि दुई देशबीचको सम्बन्ध बिगार्न तिर तम्तयार छन्,’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेता लालले समानता, सुशासन र विकासको मुद्दामा केन्द्रित रहेर निर्वाचनमा जुट्न आह्वान समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


