शक्तिशाली ज्वालामुखी विष्फोटपछि न्युजिल्यान्ड, फिजी र टोंगालगायतका देशमा सुनामीको चेतावनी

एजेन्सी, १ माघ । शक्तिशाली ज्वालामुखी विष्फोटपछि न्युजिल्यान्ड, फिजी र टोंगालगायतका देशमा सुनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी पानी मुनि विस्फोट भएको छ ।
टोंगाबाट सामाजिक सञ्जालमा आएका तस्बिरहरूमा पानीका छालहरू चर्च र धेरै घरमाथि बगिरहेको देखिन्छ । ज्वालामुखीबाट निस्किएको खरानी टोंगाको राजधानी नुकुआलोफामा फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यहाँ बस्ने मानिसलाई अग्लो स्थानमा जान अपिल गरिएको छ । हुङ्गा टोंगा–हुंगा हापाई ज्वालामुखी विष्फोटपछिको यो सबैभन्दा पछिल्लो विष्फोट हो ।
अर्कोतर्फ, फिजीको राजधानी सुभाका अधिकारीहरूले ८ मिनेटसम्म चलेको ज्वालामुखी विष्फोटको आवाज यति शक्तिशाली भएको बताएका छन् । यो आवाज फिजीमा ५०० माइल टाढासम्म पनि सुनिएको बताइएको छ ।
टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर उचाइसम्म पुगेको जनाएको छ ।टोंगाको राजधानी हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट ६५ किलोमिटर मात्र टाढा छ ।
अष्ट्रेलियाको मौसम विभागले त्यहाँ १.२ मिटर अग्लो सुनामी आएको जानकारी दिएको छ । हुङ्गा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट २३०० किलोमिटर टाढा रहेको न्यूजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


