काठमाडौं, ३० पुस । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ ।

बागमतीले समूह ‘बी’ अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश–२ माथि ५ विकेटको जित हात पारेको हो ।

१५६ रनको विजयी लक्ष्य बागमतीले अन्तिम ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ३२ रनको योगदान दिए ।

लक्की कठायतले २८ रन बनाउँदा अविजित रहेका प्रतिश जिसीले २२ र नन्दन यादवले १५ रन जोडे ।

प्रदेश–२ का लागि जितेन्द्र यादवले २ तथा प्रतिक यादव, हरिशंकर शाह र विवेक यादवले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

प्रदेृश–२ का लागि हरिशंकर शाहले अविजित रहँदै ५६ रनको योगदान दिए । ५४ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

विवेक यादवले २८ रन बनाउँदा कप्तान हसिम अन्सारी २६ रनमा अविजित रहे ।

बागमतीका लागि रिजन ढकाल र विपिन आचार्यले २–२ तथा प्रतिश जिसी र सुवास खत्रीले १–१ विकेट लिए ।

यो जितसँगै ३ खेलमा ४ अंक जोडेको बागमतीले सेमिफाइनल सम्भावनालाई जिवितै राख्दा ४ खेलमा २ अंकका साथ पराजित प्रदेश–२ भने समूह चरणबाटै बाहिरिएको छ ।