‘ए’ डिभिजन लिगमा एपिएफले हिमालयन शेर्पालाई १–० ले हरायो

काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ ।
पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभास लामिछानको हेडर गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो ।
त्यसको एक मिनेटपछि नै एपिएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिँदा हिमालयनले बराबरी गर्ने अवसर गुमायो ।
यसअघि खेलको दोस्रो मिनेटमै स्ट्राइकर आशिष लामाको गोलमा एपिएफले अग्रता लिएको थियो । तर, सो गोलले अफसाइड भएको भन्दै मान्यता नपाएपछि एपिएफ निराश बन्यो ।
२० औं मिनेटमा मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर क्रसबारमा लागेर फर्कंदा हिमालयन शेर्पाले गोल गर्ने अवसर गुमाएको थियो ।
६३ औं मिनेटमा मिलनको कर्नरमा उजरिच सिइबीले गरेको हेड बारिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।
७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपिएफले अग्रता दोब्बर बनाउन सकेन ।
एपिएफले ९ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ । समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैठौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


