एजेन्सी, २९ पुस । अस्ट्रेलियामा जारी बिग बास लिग (बिबिएल) मा सिड्नी थन्डरविरुद्ध होबार्ट हरिकेन्स ९ रनले विजयी भएको छ ।

जारी संस्करणमा होबार्टको यो छैठौं जित हो । उसले १२ म्याच खेल्दा ६ खेलमा भने हारको सामना गरेको छ ।

सिड्नीले १२ म्याच खेल्दा आठमा जित र चार खेलमा हार बेहोरेको छ । आफ्नो १२ औं खेलमा बिहीबार होबार्टले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६८ रन बनायो । उसका लागि एलेक्स हेल्सले सर्वाधिक ३८ रन बनाए ।

बलिङमा रिली मेरिडीथ, जोर्डन थोम्सनले तीन÷तीन, सन्दीप लामिछानेले दुई र डार्सी सर्टले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको होर्बाटले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि कप्तान म्याथ्यू वेड र काबेल ज्वेलले अर्धशतकीय पारी खेले ।

वेडले ५४ बलमा ८ चौका दुई र छक्काको मद्दतमा अविजित ८३ र ज्वेलले ३२ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५१ रन बनाए । बलिङमा गुरिन्दर सन्धुले दुई, डानियल साम्स, तनवीर संघा र मोहम्मद हसनैनले एक÷एक विकेट हात पारे ।

सिड्नीविरुद्ध होबार्टलाई जिताउन सन्दीपको योगदान पनि महत्वपूर्ण रह्यो । उनले एकै ओभरमा दुई विकेट लिएपछि होबार्ट जित नजिक पुग्यो । १८ औं ओभरमा सन्दीपले विकेट लिन नसकेको भए होबार्ट खेल गुमाउने सम्भावना पनि थियो ।

तर सन्दीपले १७.१ ओभरमा ब्याक्सटर होल्टलाई १७ रनमा आउट गरे । यही ओभरको चौथो बलमा उनले नाथन म्याकएन्ड्र्यूलाई ३० रनमा आउट गरे । सन्दीपले पहिलोमा ८, दोस्रोमा ५, तेस्रोमा ९ र चौथो ओभरमा २ विकेट लिएर ५ रन मात्र खर्चिए ।

सिड्नीविरुद्ध सन्दीपले चार ओभरमा कुल २६ रन दिएर महत्वपूर्ण २ विकेट लिए । सन्दीपले १२ खेलमा १२ विकेट लिएका छन् ।