एजेन्सी, २९ पुस । जर्मनीमा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । जर्मनीका स्वास्थ्य अधिकारीका अनुसार गत २४ घण्टामा मात्र त्यहाँ ८० हजार ४३० जनामा कोरोना पुष्टि भएको हो ।

यो संख्या जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिकै एकैदिनमा देखिएको सबैभन्दा धेरै संख्या हो । त्यहाँका अधिकारीहरूका अनुसार जर्मनीमा ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।

त्यस्तै, त्यहाँका करिब ३ करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा त्यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड संक्रमित हुने चेतावनी दिएको छ ।