एजेन्सी, २८ पुस । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को दिल्लीस्थित मुख्यालयमा कार्यरत ४२ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भएको पाइएको छ ।

भाजपाको कोर ग्रुपको बैठकभन्दा अगाडि सोमबार सामूहिक स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा ४२ जनामा कोरोना संक्रमण भएको पाइएको हो ।

संक्रमित हुनेमा केही सरसफाइमा संलग्न कर्मचारी पनि रहेका छन् । संक्रमित सबैलाई सेल्फ आइसोलेशनमा राखिएको भाजपाले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि भाजपाले नयाँ प्रोटोकल जारी गरेको छ । नयाँ प्रोटोकल अनुसार मुख्यालयमा कुनै पनि बैठक बस्नु अघि सहभागी हुने सबैले कोरोना परिक्षण गर्नुपर्ने हुन्छ ।

यसअघि भाजपा प्रमुख जेपी नड्डाले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका थिए ।