एजेन्सी, २७ पुस । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।

देशव्यापी खोप अभियानअन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उनले मंगलबार सबैलाई अनुरोध गरे । उनले वयस्क तथा ज्येष्ठ नागरिकलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारीसमेत दिए ।

बालबालिकालाई पहिलो मात्रा खोप लगाउने र वयस्क तथा ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप लगाउने अभियान सँगसँगै चलाइने उनको भनाइ छ ।

उनले महामारी दिन प्रतिदिन तीव्र रूपमा फैलिँदै गएकाले गैरआवासीय विदेशीलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि गरे ।

जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ संक्रमित थपिएको सरकारी अधिकारीले जनाएका छन् ।