एजेन्सी, २७ पुस । दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिसले क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

मोरिसले दक्षिण अफ्रिकाका लागि चार टेस्ट, ४२ एकदिवसीय र २३ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

३४ वर्षीय मोरिसले सन् २०१२ मा जिम्बावेविरुद्धको टि–२० खेलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अन्तिम टि–२० अन्तर्राष्ट्रिय सन् २०१९ मा श्रीलंकाविरुद्ध खेलेका थिए ।

मोरिसले टि–२० अन्तर्राष्ट्रियमा १ अर्धशकसहित १३३ रन बनाउँदा ३४ विकेट हात पारेका छन् । उनले सन् २०१३ पाकिस्तानविरुद्ध पहिलो र सन् २०१९ मा अस्ट्रेलियाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

मोरिसले एकदिवसीय अन्तर्राष्ट्रियमा १ अर्धशतकसहित ४६८ रन बनाउँदा ४८ विकेट लिएका छन्। उनले सन् २०१६ मा पहिलो र अन्तिम टेस्ट सन् २०१७ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । यसैगरी मोरिसले टेस्टमा १ अर्धशतकसहित १७३ रन बनाउँदा १२ विकेट हात पारेका छन् ।

अब मोरिसले दक्षिण अफ्रिकाको घरेलु क्लब टाइटन्सको प्रशिक्षकका रूपमा काम गर्ने समेत जनाएका छन् ।