चितवनमा १८ वर्ष माथिका ९० प्रतिशत व्यक्तिले लगाए कोभिड–१९ विरुद्धको खोप

हेटौंडा, २७ पुस । चितवनमा १८ वर्ष माथिका ९० प्रतिशत व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
ती उमेर समूहका ४ लाख हाराहारी जनसंख्या रहेका जिल्लामा ३ लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् ।
पहिलो मात्रा लगाएकामध्ये ३ लाख २० हजार ९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ , भेरोसेल २ लाख ३७ हजार ६०२ ,एष्ट्राजेनिका ५१ हजार ९६२ , फाईजर बायोएनटेक १ हजार ८६७ र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोप दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ , भेरोसेल १ लाख ९६ हजार ७२९ , जोन्सन ३८ हजार ६७० र फाइजर बायोएनटेक १ हजार ७५७ जनाले लगाएका छन् ।
पहिलो मात्रा लगाएका, तर दोस्रो मात्रा लगाउने समय भइनसकेको संख्या २० हजार हाराहारी छ । कतिपय पहिलो मात्रा यहाँ लगाएर अन्य जिल्लामा गएर दोस्रो मात्रा खोप लगाउने गरेका छन् ।
पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन् । १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ । चितवनबाट विदेश जानेहरुको संख्या पनि ठूलै छ ।
जिल्लामा १८ वर्षमाथिको जनसंख्या चार लाख हाराहारी रहेको अनुमान गरिएको छ । यस हिसाबले खोप लगाउन बाँकी संख्या न्यून देखिन्छ । तर, जिल्लामा व्यापार व्यवसाय गर्न, पढ्न र कामको खोजीमा आउनेको संख्या अधिक रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


