बंगलादेशविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्डको शानदार जित

एजेन्सी, २७ पुस । घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा एक इनिङ र ११७ रनको शानदार जित हात पारेको छ ।न्युजिल्यान्डको यो जितसँगै दुई टेस्टको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
दोस्रो टेस्टको तेस्रो दिन फलोअनमा परेको बंगलादेश २७८ रनमा समेटिएपछि न्युजिल्यान्डले शानदार जितसहित सिरिज बराबरी गरेको हो ।
दोस्रो पारीमा बंलादेशका लागि लिटन दासले शतकीय पारी खेले । ११४ बलको सामना गरेका उनले १४ चौका र १ छक्काको मद्दतले १०२ रन बनाए । नुरुल हसनले ३६ र नजमुल होसेन सान्तोले २९ रनको योगदान दिए ।
न्युजिल्यान्डका काइल जेमिसनले ४, निल वाग्नरले ३ तथा टिम साउदी, ड्यारिल मिचेल र रोस टेलरले १–१ विकेट लिए ।
पहिलो पारीमा सबै विकेट गुमाउँदै १२६ रन मात्र बनाएपछि बंगलादेश फलोअनमा परेको थियो । बंगलादेशका लागि यासिर अलीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले ७ चौका सहित ५५ रन बनाए ।
नुरुल हसनले ४१ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्डले ५, टिम साउदी ३ तथा काइल जेमिसनले २ विकेट हात पारे ।
यसअघि हेग्ली ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ५२१ रन बनाएपछि पहिलो पारी समाप्तीको घोषणा गरेको थियो।
न्युजिल्यान्डका लागि कप्तान टम लाथम, डिभोन कोन्वे र टम ब्लन्डेलले उत्कृष्ट पारी खेले ।
लाथमले ३७३ बलमा ३४ चौका र २ छक्काको मद्दतमा २५२ रन बनाउँदा १०९ रन जोडेका कोन्वेले १६६ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।
६० बलमा ८ चौका प्रहार गरेका ब्लन्डेल ५७ रनमा अविजित रहे ।
बंगलादेशका लागि सोरिफुल स्लाम र इवादोत होसेले २–२ तथा कप्तान मोमिनुल हकले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भएको थियो ।
पहिलो टेस्टमा बंगलादेश ८ विकेटले विजयी भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


