प्रधानमन्त्री कप : कर्णाली प्रदेशको पहिलो जित

काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
कर्णालीले समूह ‘ए’ अन्तर्गत मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश–१ माथि ३१ रनको जित हात पारेको हो ।
१२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ ले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।
प्रदेश–१ का लागि फिरदोश अन्सारीले सर्वाधिक २३ रनको योगदान दिए । दिपेश कँडेल र सारवान यादवले १५–१५ तथा कप्तान सिद्धान्त लोहनीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीका लागि अनुज चुनाराले ४, दिवान पुनले २ तथा दिनेश अघिकारी, प्रकाश जैसी र अनुप कुँवरले १–१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रनको योगदान दिए । प्रकाश जैशीले २५ र राज शाहले १५ र विपिन रावलले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश–१ का लागि मुकुन्द यादवले ३, फिरदोश अन्सारीले २ तथा कमल खत्री र सिद्धान्त लोहनीले १–१ विकेट हात पारे ।
यो जितसँगै कर्णालीले दुई खेलमा दुई अंक जोड्दा प्रदेश–१ ले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
पहिलो खेलमा कर्णालीले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय बेहोरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


