काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पुलिसले समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि ४ विकेटको जित हात पारेको हो ।

१३८ रनको विजयी लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रनको योगदान दिए । राशिद खानले २८ रन बनाउँदा अविजित रहेका दिलिप नाथले २५ रन जोडे ।

आर्मीका लागि साहब आलमले ३, जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन को योगदान दिए । सोमपाल कामीले ४२, कुशल मल्ल, हरि चौहान र सुशन भारीले १२–१२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि करण केसीले ४, गुल्सन झा र योगेन्द्रसिंह कार्कीले २–२ तथा आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।

यो जितसँगै दुई खेलमा चार अंक जोडेको पुलिस समूहको शीर्ष स्थानमा उक्लिँदा आर्मीले पहिलो पराजय बेहोरेको छ ।

पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशमाथि २ र आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित हात पारेको थियो ।