एजेन्सी, २६ पुस । अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टको भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना बच्चा पनि रहेका छन् ।

आगलागीमा परी घाइते भएका ३२ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशको अवस्था गम्भीर भएको न्युयोर्कमा मेयर एरिक एडम्सले बताए ।

स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको अधिकारीहरूले जनाएका छन् । कम्तीमा पनि २०० दमकलकर्मी आगो निभाउन पठाइएको थियो ।

दमकल विभागका अधिकारी डेनियल निग्रोले बितेको ३० वर्षमा न्युयोर्कमा यस्ता खालका घटनामा धेरैले ज्यान गुमाएको तथ्यांक रहेको बताए ।

अधिकारीहरूका अनुसार इलेक्ट्रिक हिटरमा समस्या आएपछि आगलागी भएको थियो ।