जनताको जीवनस्तर उकास्नमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत

जनकपुरधाम, २६ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले ग्रामीण जनताको आयस्तर उकास्नका साथै उनीहरुको जीवनशैली परिवर्तनमा पनि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारीलाई संविधानले पनि स्वीकार गरिरहेको जिकिर गर्दै उनले थोरै पूँजीलाई एकत्रित गरेर आमजनता सहकारीमार्फत लाभान्वित भइरहेको समेत बताए ।
उनले भने,‘सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्छ, यसरी लगानीले अझै बढी जनता लाभान्वित हुन्छ ।’
सहकारी सम्बन्धी ऐन ल्याएर सरकारले आफ्नोतर्फबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए । सहकारी विज्ञहरुसित छलफल गरेर मात्रै सहकारी सम्बन्धी ऐन ल्याउने उनले जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उपे्रतीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले सहकारीले समाजमा गर्नुपर्ने योगदान अझै गर्न नसकेको बताए ।
उनले सहकारीमा अहिले बढेको विकृतिलाई हटाए मात्रै सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुन सक्ने जिकिर गरे ।सो अवसरमा अध्यक्ष उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


