सप्तरी, २६ पुस । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

आगामी माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा शहीद परिवारहरुलाई जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

विभिन्न समयमा भएका मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ५७ जनाको परिवारलाई मधेशी शहीद प्रतिष्ठानको सिफारिस बमोजिम सरकारले जनही ३ लाखका दरले आर्थिक सहयोग प्रदान गर्ने मन्त्री साहले बताए ।

उनले शहीद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले सो रकम प्रदान गर्न लागिएको जानकारी दिए ।

मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पनि आर्थिक सहयोग उपलब्ध गराइने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म रकम प्रदान गरिने जानकारी दिए ।

मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रो पटक पर्साको वीरगञ्जमा र तेस्रो पटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको प्रदेश २ सरकारले यस पटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाउने निर्णय गरेको छ ।