जनकपुरधाम, २६ पुस । झण्डै ६ दशक पूर्व निर्माण गरिएको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालय यसक्षेत्रकै पुरानो विद्यालय मध्येको एक हो ।

यो विद्यालय र विद्यालय मातहतको पोखरी सोही वडाका वडाध्यक्ष रामेश्वर महासेठले स्थानीयबासीलाई छलेर किर्ते लालपूर्जा बनाएको स्थानीयको आरोप छ ।

विद्यालयको संरक्षण गर्न र कीर्ते लालपुर्जा बदर गर्न भनेर विद्यालयका प्रधानाध्यकदेखि गाउँका स्थानीय समेत अहिले दैनिक बैठक र छलफलमा जुटेका छन ।

२०७५ बैशाख महिनामा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि विद्यालयको पठन पाठनमा समस्या हँुदै आएको छ । कित्ता नं. ५३ मा एक पोखरीसहितको ३ विगहा १५ कठठा ५ धुर जग्गामा विद्यालय रहेको छ ।

२०१५ सालमा स्थापना भई विधिवत रुपमा २०१७ सालदेखि पठन पाठन सुरु भएको विद्यालयको सम्पत्ति उपर महासेठ परिवारको नजर रहेको स्थानीयबासी र प्रधानाध्यापकको आरोप छ ।

विद्यालयको जग्गा किर्ते गरेको आरोपमा दुषित लालपुर्जा बदर गरि पाउँ भनी विद्यालयको तर्फबाट आफुले जिल्ला अदालत धनुषामा मुद्धा दायर गरेको प्रधानाध्यापक विरेन्द्रप्रसाद यादवले आक्रोश व्यक्त गरेका छन । विद्यालयको जग्गा वडाध्यक्ष महोसेठ परिवाले कब्जा गर्ने योजना बनाई रहेकोले आफुलाई पटक पटक विद्यालय खाली गर्न दवाव आइरहेको उनले दुःखेसो पोखेका छन ।

त्यति मात्र नभई प्रअ यादवले आफुलाई महासेठ परिवारले प्रलोभन समेत दिने गरेको सार्वजनिक रूपमैं खोलेका छन । विद्यालयको सम्पत्ति उपर वडाध्यक्ष परिवारको दुषित नजर पर्नु दुर्भाग्यपूर्ण रहेको स्थानियको भनाइ छ ।

युवा नेता सुरेश कोइरालाले विद्यालयको सम्पत्ति विद्यालयकै नाममा हुनुपर्ने र यसका लागि स्थानियबासीन्दा, समाजसेवी, राजनीतिकर्मी तथा शिक्षाप्रेमीको साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले पुनः अदालतले विद्यालयको जग्गा फिर्ता गर्ने विश्वास व्यक्त गरेका छन ।

तत्कालीन समयमा खाली सार्वजनिक जग्गामा पञ्चायत भवन, प्रहरी चौकी र स्कुल एक साथ सुरु भएको र यो पोखरी दनुवारको रहेको भन्दै २०२६ सालमा नापी कार्यालयको टोली आउँदा विद्यालयको नाममा नापनक्सा भएको थियो । स्थानीय समाजसेवी भोगेन्द्र रायले आफ्नो बाबू बाजेले स्थानीयको सहयोगमा २०१७ सालमा विद्यालय स्थापना गरेको बताएका छन ।

पछिल्लो समयमा आएर महासेठ परिवारले तत्कालिन विद्यालयका प्रधानाध्यापक, तत्कालिन प्रधानपञ्च स्वयं भएको अनुकुल पारेर विद्यालयको जग्गाको लालपुर्जा किर्ते गरेको आरोप लगाएका छन् ।

वडा नं. २१ का युवा नेता शम्भु झाले विद्यालयको भवन वडाध्यक्ष रामेश्वर महासेठको निर्देशनमा भत्काउनु गैरकानुनी भएको भन्दै विद्यालयको भवन र जग्गा संरक्षण गर्नु हाम्रो कर्तव्य र दायित्व भएको बताएका छन ।

विद्यालयको सम्पत्ति बचाउनु हामी सवैको साझा अभियान र दायित्व भएकोले यसका लागि सवैको साथ र सहयोग हुनुपर्नेमा स्थानीयको जोड़ छ ।

२०१७ सालमा स्थापित राजर्षि जनक माध्यमिक विद्यालय कुर्थामा हाल ८ सय भन्दा बढ़ी बिद्यार्थी अध्ययनरत रहेका छन । विद्यालयमा स्थायी , बालबिकाश र निजी गरेर जम्मा १७ जना शिक्षक रहेका छन । बिद्यालयको मुद्दा हाल जिल्ला अदालतमा रहेको र पुस २८ गतेका लागि पेसीको समय तोकिएको छ ।

यस विषयमा वडाध्यक्ष महासेठले केही बोल्न मानेका छैनन् ।