हिन्दी भाषाको भूमिका महत्वपूर्णः मुख्यमन्त्री राउत

जनकपुरधाम, २५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारत बीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
भारतीय महावाणिज्य दूतावास वीरगंजले आइतबार विश्व हिन्दी दिवसको अवसर पारेर जनकपुरधाममा आयोजना गरेको नेपाल-भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयक गोष्ठीलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बोल्न र बुझ्नमा सहज भएकोले दुवै मुलुकका नागरिक बीच सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण रहेको बताए ।
डा. आशा सिन्हाको अध्यक्षतामा आयोजित गोष्ठीमा पूर्व पश्चिमलाई जोड्ने काम पनि हिन्दी भाषाले गरिरहेको उनले बताए ।
नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले नछेक्ने तर्क राख्दै उनले सदियौ पुरानो सम्बन्ध स्थापित गर्न पनि हिन्दी भाषाको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।
मुख्यमन्त्री राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नका लागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया चाँडै अघि बढाउने जानकारी दिए । भाषा र संस्कृतिको रक्षा गर्ने दायित्व प्रदेश सरकारको रहेकोले यसका लागि आवश्यक ऐन कानुन र बजेट चाँडै व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।
गोष्ठीमा कविता वाचन गरेका कवीहरुको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले विद्वानहरुले वडो कलात्मक र सुन्दर तरिकाले समसामयिक विषयवस्तु थोरै शब्दमा पस्केकोमा धन्यवाद समेत दिए ।
सामाजिक विकासमन्त्री नवल किशोर साहले हिन्दी भाषा नेपाल र भारत बीचको सम्बन्धलाई स्थापित गर्ने सेतुको काम गरेको बताए ।
गोष्ठीमा महावाणिज्य दूत नितेश कुमारले प्रत्येक वर्ष १० जनवरीका दिन विश्व हिन्दी दिवस मनाउँदै आएको जानकारी दिदै सन् २००६ देखि नियमित रुपमा सो दिवस मनाउँदै आएको बताए ।
जनकपुरसहित वीरगंज र कलैयामा पनि विश्व हिन्दी दिवस मनाउने तयारी रहेको उनले बताए ।
विश्वका ५० करोड भन्दा बढी नागरिक अहिले हिन्दी भाषाको प्रयोग गरिरहेको उनले जानकारी दिए ।
सो अवसरमा जनकपुरधामका साहित्यकारहरुले हिन्दी भाषामा कविता वाचन समेत गरेका थिए ।
गोष्ठीमा कविता वाचन गरेका साहित्यकारहरुलाई मुख्यमन्त्री राउतले दोसल्लो ओढाएर सम्मान गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


