काठमाडौं, २५ पुस । हिमालयन शेर्पा क्लबमाथि २–० को जितसहित थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठको आत्मघाती गोलले थ्री स्टारलाई अग्रता दिलाएको हो ।

थ्री स्टारका ऋतिक कुमार खड्काको प्रहार क्लियर गर्ने क्रममा अमृतको प्रहारले आफ्नै गोलपोस्टको दिशा लिएको थियो ।

थ्री स्टार आठ खेलमा १३ अंकसहित पाँचौँ स्थानमा उक्लिँदा समान खेलमा ११ अंक बटुलेको हिमालयन शेर्पा छैठौँ स्थानमा झरेको छ ।

तेस्रो चरणबाट लगातार चार खेल बराबरी खेलेको थ्री स्टार सातौँ चरणमा जावालाखेल युथ क्लबमाथिको जितसहित लयमा फर्किएको थियो । थ्री स्टारको यो लगातार दोस्रो जित हो ।

पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हिमालयन शेर्पा भने चौथो खेलमा भने पराजित भयो ।

यसअघि १९औँ मिनेटमा निशान खड्काको क्रसमा आयुष घलानको हेड गोलपोस्ट नजिकैबाट बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर गुमायो ।

३०औँ मिनेटमा हेमन्त थापा मगरको कर्नरमा मिडफिल्डर राफेल रिमले गरेको हेडर क्रसबारमा लागेर फकिएको थियो । त्यसको पाँच मिनेटपछि संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कंदा हिमालयन शेर्पाले खेलमा अघि बढ्ने अवसर खेर फालेको थियो ।

७३औँ मिनेटमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हिमालयनका मुतम्बा पिस्टोनीले गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिएका थिए ।

८३औँ मिनेटमा हिमालयनका विजय श्रेष्ठको पासमा जीवन गुरुङको प्रहार प्रिसोले विफल पारेका थिए । ८९औँ मिनेटमा थ्रीस्टारका क्लबका तर्फबाट निशान खड्काको प्रहार गोलरक्षक दीप कार्कीले क्याच गरेका थिए ।

त्यस्तै, दोस्रो हाफको इन्जुरी समयमा थ्रीस्टार क्लबका लागि घनिफो अन्सुमाना क्रोम्हाले गोल गरेका हुन् ।