एजेन्सी, २५ पुस । अस्ट्रेलिया–इंग्ल्यान्डबीच जारी एसेज सिरिज अन्तर्गत चौथो टेस्ट बराबरीमा सकिएको छ ।

३८८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले दोस्रो पारीको अन्तिम दिनसम्म पनि ९ विकेट गुमाउँदै २७० रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

इंग्ल्यान्डका लागि ज्याक क्राउली र बेन स्टोक्सले अर्धशतकीय पारी खेले । १०० बलको सामना गरेका क्राउलीले १३ चौकाको मद्दतमा ७७ रनको योगदान दिए ।

६० रन बनाएका स्टोक्सले १२३ बलमा १० चौका र १ छक्का प्रहार गरे । जोनी बेरिस्टोले ४१ र ज्याक लिचले २६ रन जोडे ।

अस्ट्रेलियाका स्कट बोलान्डले ३, कप्तान प्याट कमिन्स र नाथन लायनले २–२ तथा स्टिभ स्मिथ र क्यामरन ग्रिनले १–१ विकेट हात पारे ।
अस्ट्रेलियाले ६८.५ ओभरमा ६ विकेट गुमाउँदै २६५ रन बनाएपछि दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो ।

अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र क्यामरन ग्रिनले उत्कृष्ट प्रदर्शन गरे । १३८ बलको सामना गरेका ख्वाजाले १० चौका र २ छक्काको मद्दतमा अविजित १०१ रन बनाए ।

७४ रन जोडेका ग्रिनले १२२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । मार्नुस लाबुसेनले २९ रनको योगदान दिए । इंग्ल्यान्डका लागि ज्याक लिचले ४ र मार्क उडले २ विकेट हात पारे ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले १३४ ओभरमा ८ विकेट गुमाउँदै ४१६ रन बनाएपछि पहिलो पारी समाप्तीको घोषणा गरेको थियो ।

अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले शतकीय र स्टिभ स्मिथले अर्धशतकीय पारी खेले । २६० बलको समान गरेका ख्वाजाले १३ चौकाको मद्दतमा १३७ रन बनाए ।

६७ रन बनाएका स्मिथले १४१ बलमा ५चौका प्रहार गरे । मिचेल स्टार्च ३४ र नाथन लायन १६ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि स्टुआर्ट ब्रोडले ५ तथा जेम्स एन्डरसन, मार्क उड र जो रुटले १–१ विकेट हात पारे ।

इंग्ल्यान्डले पहिलो पारीमा ७९.१ ओभरमा सबै विकेट गुमाउँदै २९४ रन बनाएको थियो । इंग्लयान्डका लागि जोनी बेरिस्टोले शतकीय र बेन स्टोक्स अर्धशतकीय पारी खेले ।

१५८ बलमा ११३ रन बनाएका बेरिस्टोले ८ चौका र ३ छक्का प्रहार गरे । स्टोक्सले ९ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । मार्क उडले ३९ रन जोडे ।

अस्ट्रेलियाका लागि स्कट बोलान्डले ४, प्याट कमिन्स र नाथन लायनले २–२ तथा मिचेल स्टार्च र क्यामरन ग्रिनले १–१ विकेट हात पारे ।

यो नजितासँगै अस्ट्रेलियाले ५ खेलको सिरिजमा ३–० को अग्रता लिएको छ । पाँचौं तथा अन्तिम टेस्ट १४ जनवरीबाट होबार्टमा सुरु हुनेछ ।