एजेन्सी, २४ पुस । कतार सरकारले कोरोना भाइरसबाट बच्न स्वास्थ्य मापदण्ड नअपनाउने ८९८ जनालाई कारबाही गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुन थालेपछि कतारले उनीहरूलाई कारबाही गरेको हो ।

जसमध्ये मास्क नलगाउने ५९५, शारीरिक दूरी कायम नगर्ने २७० र एहतेराज एप इन्स्टल नगर्ने ३३ जना रहेका छन् । उनीहरूलाई ६ महिना जेल अथवा ५ हजार कतारी रियाल वा दुबै सजाय हुने बताइएको छ ।

कतारमा बन्द र खुला सार्वजनिक स्थानहरूमा मास्क अनिवार्य रूपमा लगाउनुपर्दछ । ६ वर्ष मुनिका बालबालिका र खुला ठाउँमा खेलकुद र व्यायाम गर्ने मानिसहरूका लागि मात्र मास्क लगाउन छुट दिइएको छ ।