काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा लिग लिडर मछिन्द्र क्लब विजयी भएको छ ।

मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्रेन्ड्स क्लबमाथि १–० को कठिन जित हात पारेको हो ।

खेलको ६७ औं मिनेटमा फ्रेन्ड्सका रोनेल एन्थोनी पउलले गरेको अत्मधाती गोल नै मछिन्द्रलाई जित दिलाउन प्रयाप्त बन्यो ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहारमा फ्रेन्ड्सका आकश राईले क्लियर गर्न नसकेको बललाई रोनेलले हेडमार्फत बचाउन खोजे पनि आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

४५ औं मिनेटमा मछिन्द्रका अभिषेक रिजालको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे ।

पहिलो हाफको थप गरिएको समयमा कप्तान प्रिजेन तामाङको डाइभिङ हेडर पोस्ट निजकैबाट बाहिरिँदा फ्रेन्ड्सले अग्रता लिन सकेन ।

५३ औं मिनेटमा फ्रेन्ड्सका जामाउल एन्थोनी फ्रान्कोइसले शुनौलो अवसरलाई खेर फाले ।

६४ औं मिनेटमा अभिषेकको प्रहारलाई गोलरक्षक राहुलले सहजै बचाए ।

यो जितसँगै मछिन्द्र ८ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा ३ अंकका साथ अन्तिम स्थानमा रहेको फ्रेन्डसको रेलिगेसन सम्भावना बढेको छ ।