काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।

आर्मीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा न्यू रोड टिम (एनआरटी) माथि १–० को कठिन जित हात पारेको हो ।

खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गरेको एक मात्र गोल आर्मीलाई जित दिलाउन प्रयाप्त बन्यो ।

उनले जगिजत श्रेष्ठको पासलाई सदुपयोग गरेका हुन् ।

खेलमा पकड जमाएको भए पनि आर्मीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन।

६२ औं मिनेटमा जर्जप्रिन्स कार्कीको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरियो ।

७३ औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई एनआरटीका गोलरक्षक अजित प्रजापतीले उत्कृष्ट बचाउ गरे ।

यो जितसँगै आफ्नो अपराजित यात्रा कायम राख्दै ८ खेलमा १४ अंक जोडेर आर्मी चौथोमा स्थानमा यथावत छ ।

पराजित एनआरटी १० अंकका साथ सातौं स्थानमा कायम छ ।