एजेन्सी, २३ पुस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का थप दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अर्जेन्टिनाका एन्जल डि मारिया र जर्मनीका जुलियन ड्याक्सलर संक्रमित भएका हुन् ।

पिएसजीले यी आफ्ना दुई मिडफिल्डरलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनीहरू सेल्फ आइसोलेसनमा बसेको जानकारी दिएको छ ।

कोरोना पुष्टि भएपछि उनीहरूले फ्रेन्च लिग वान अन्तर्गत शनिबार हुने लियोनविरुद्धको खेल गुमाउने भएका छन् ।

यसअघि नै कोरोना संक्रमणका कारण पिएसजीका लेभिन कुर्जवा, जियानलुइजी डोनारुम्मा, ड्यानिलो परेरा र सर्जियो रिको आइसोलेसनमा छन् ।

कोरोना संक्रमित भएपछि लियोनल मेस्सीले पनि कप डि फ्रान्सअन्तर्गत सोमबार भएको भनेसविरुद्धको खेल गुमाएका थिए । तर बिहीबार गरिएको परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।