काठमाडौं, २३ पुस । कोरोना महामारी सुरु भएको दुई वर्ष पुरा भएको छ । पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको यो भाइरस अहिले विश्वका सबै देशमा पुगेको छ ।

यो दुई वर्षको अवधिमा विश्वका ३० करोडभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने करिव ५५ लाख जनाको यसले ज्यान लिइसकेको छ ।

वर्ल्डोमिटर्सका अनुसार बिहीबारसम्म विश्वमा ३० करोड ८ लाख ५२ हजार ४९७ जनालाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । सोही अवधिमा कोरोना भाइरसका कारण विश्वमा ५४ लाख ९० हजार ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमण भएकामध्ये २५ करोड ७५ लाख ५५ हजार ८६३ जना निको भइसकेका छन् ।

पछिल्लो चौबिस घण्टा अर्थात बिहीबारको दिन मात्र विश्वमा २५ लाख १० हजार ९०३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । बुधबार एकैदिन विश्वमा २५ लाख ५२ हजार ६४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए । कोरोना महामारी सुरु भएयता देखि आजसम्म एकैदिन सबैभन्दा बढी नयाँ संक्रमित बुधबार थपिएका हुन् ।

कोरोना भाइरस सुरु भएको चार महिनापछि अर्थात २०२० अप्रिल २० का दिन मात्र कूल संक्रमितको संख्या २५ लाख नाघेको थियो ।अहिले एकै दिन २५ लाखभन्दा बढी संक्रमित थपिदै आएका छन् । पछिल्ला दिनहरुमा विश्वमा कोरोना भाइरसको सुनामी नै आएको छ ।

मंगलबार एकैदिन विश्वमा २१ लाख ५३ हजार ७२२ जना कोरोना भाइरसका नयाँ विरामी थपिएका थिए । मंगलबारअघि विश्वमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित २०२१ डिसेम्बर ३० का दिन थपिएका थिए । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार उक्त दिन विश्वमा १९ लाख ३५ हजार १७१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

२०२१ डिसेम्बर ३१ दिन पनि विश्वमा निकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका थिए । सो दिन १९ लाख ३४ हजार ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सन् २०१९ मा चीनको हुबेई प्रान्तको वुहानमा नयाँ प्रकारको निमोनिया देखिएको थियो, जसलाई पछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ (कोरोना भाइरस) नाम दिएको थियो ।

एक सातामा १ करोड ३८ लाख संक्रमित थपिए

गत साता विश्व स्वास्थ्य संगठनले कोरोनाको खतरनाक सुनामी आउँदै गरेको चेतावनी दिएको थियो । नभन्दै अहिले विश्वको अवस्था त्यस्तै देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो एक सातामा विश्वमा १ करोड ३७ लाख ९४ हजार ७७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । अघिल्लो साताको तुलनामा यो ६५ प्रतिशतले बढी हो ।

अघिल्लो साता विश्वमा ८३ लाख ३९ हजार १७६ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो एक सातामा अमेरिकामा मात्र ४२ लाख ७१ हजार २०९ जना कोरोनाको नयाँ संक्रमित थपिएका थिए ।

सबैभन्दा बढी प्रभावित देश

कोरोना पहिलो पटक चीनमा देखिएको भए पनि यसले सबैभन्दा बढी असर युरोप र अमेरिकामा गरेको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म ५ करोड ९५ लाख ६४ हजार ११६ जनालाई कोरोना संक्रमण भएको छ ।संक्रमितमध्ये ८ लाख ५५ हजार ८४३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित हुने दोस्रो ठूलो संख्या छिमेकी राष्ट्र भारतमा रहेको छ । भारतमा हालसम्म कोरोनाबाट ३ करोड ५२ लाख २६ हजार ३८६ जना संक्रमित भएका छन् भने ४ लाख ८३ हजार १७८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा हालसम्म २ करोड २३ लाख ९५ हजार ३२२ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । तीमध्ये ६ लाख १९ हजार ७३० जनाको ज्यान कोरोनाले लिइसकेको छ ।

बेलायतमा हालसम्म १ करोड ४० लाख १५ हजार ६५ जनामा कोरोना पुष्टी भएको छ । संक्रमितमध्ये बेलायतमा १ लाख ४९ हजार ५१५ जनाको मृत्यु भइसकेको छ ।

बेलायतपछि संक्रमितको ठूलो संख्या फ्रान्समा रहेको छ । फ्रान्समा हालसम्म १ करोड ११ लाख ८३ हजार २३८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ लाख २५ हजार १३ जनाको मृत्यु भएको छ ।

रुसमा हालसम्म १ करोड ६ लाख १ हजार ३०० जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । संक्रमितमध्ये ३ लाख १३ हजार ८१३ जनाले ज्यान गुमाएका छन् ।

रुसपछि संक्रमितको संख्या ठूलो हुने र ज्यान गुमाउने संख्या बढी हुनेमा टर्की, जर्मनी, इटाली, स्पेन, इरान, अर्जेन्टिना, कोलम्बिया, इन्डोनेसिया, पोल्याण्ड र मेक्सिको रहेका छन् ।

नेपालको अवस्था

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या ८ लाख ३० हजार ४८० रहेको छ ।

नेपालमा रहेका संक्रमितमध्ये हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भएको छ ।

नेपालमा रहेका संक्रमितमध्ये ८ लाख १३ हजार ४४७ जना संक्रमित निको भइसकेको स्वास्थ्य तथा वातावरण मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ, जसमध्ये ११४ जनाको अवस्था गम्भिर छ ।

–फरकधार