एजेन्सी, २२ पुस । उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले बुधबार सफलतापूर्वक हाइपरसोनिक मिसाइलको परीक्षण गरेको रिपोर्ट आज सार्वजनिक गरेको हो ।

परमाणु निशस्त्रीकरण वार्ता रोकिएको बेला उत्तर कोरियाले सैन्य क्षमता विस्तार गर्दै दोस्रो पटक हाइपरसोनिक मिसाइल परीक्षण गरेको हो ।

यसअघि उत्तर कोरियाले गत सेप्टेम्बरमा पहिलो पटक हाइपरसोनिक मिसाइलको परिक्षण गरेको थियो । गत अक्टोबरपछि भने बुधबार कोरियाले पहिलोपटक मिसाइलको परीक्षण गरेको हो ।

उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेपछि अमेरिका, दक्षिण कोरिया र जापानले त्यसको विरोध गरेका छन् ।हाइपरसोनिक मिसाइल ब्यालेस्टिक मिसाइलको तुलनामा निकै तिव्र गति तल्लो सतहबाट लक्ष्य प्रहार गर्न सक्षम मानिन्छ ।

हाइपरसोनिक मिसाइलको गति ध्वनीको गतिभन्दा पाँच गुना बढी हुने गरेको छ । अर्थात हाइपरसोनिक मिसाइलको गति प्रतिघण्टा ६२ हजार किलोमिटर हुने गर्छ ।