काठमाडौं, २२ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता २६ पुसदेखि ५ माघसम्म त्रिभुवन विश्वविद्यालय मैदान र मूलपानी मैदानमा हुने भएको छ ।

समूह ’ए’ मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश–१ छन् । समूह ’बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

उद्घाटन खेल आर्मी र कर्णालीबीच टियु मैदानमा हुनेछ । त्यस दिन टियुमै दोस्रो खेल एपीएफ र प्रदेश २ बीच हुनेछ । त्यस दिन उता मूलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा बागमती र लुम्बिनी भिड्नेछन् ।

हरेक समूहका शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् । दुवै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ ।

यसअघि प्रधानमन्त्री कप एकदिवसीय शैलीमा हुँदै आए पनि ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ’ए’ लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० शैलीमा गर्न लागेको हो । योसँगै ७ वर्षपछि नेपालमा टि–२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।

यसअघिका चारै संस्करण एक दिवसीय शैलीमा आयोजना भए पनि यस पटक आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ’ए’ लाई मध्यनजर टि–२० शैलीमा हुन लागेको हो ।