काठमाडौं, २२ पुस । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजिवबन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूलाई बिदाइ गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए ।

विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै पनि शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री उनले नेपाली खेलाडीहरू ट्रफी बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

पुस २६ गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।

४२ किलोमिटर दुरीको फुलम्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका हुन् ।