एजेन्सी, २१ पुस । भारतको नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् ।

यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् ।

उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए । निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए ।

भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि कोरोना संक्रमण दर बढ्ने क्रम जारी छ ।

बिहारमा पनि प्रतिबन्ध

संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरका प्री–स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत् पढाइने छ ।

यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ ।

सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।

नयाँ नियमहरु ६ जनवरीदेखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।