एजेन्सी, २१ पुस । भारतमा ‘बुल्ली बाई’ नामक अनलाइन एपमा तस्वीरसहित सयबढी मुस्लिम महिलालाई लिलामीमा राखेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

बुधबार मुम्बई प्रहरीको साइबर अपराध शाखाले ‘बुल्ली बाई’ एप प्रकरणमा संलग्न रहेको आशंकामा थप एक जनालाई पक्राउ गरेको पीटीआईले जनाएको छ । प्रहरीले उत्तराखण्डका २१ वर्षीय विद्यार्थी मायन्क रावललाई पक्राउ गरेको हो ।

रावल ‘बुल्ली बाई’ प्रकरणमा पक्राउ पर्ने तेस्रो व्यक्ति हुन् । प्रहरीले यसअघि सोमबार र मंगलबार गरी दुई जनालाई पक्राउ गरिसकेको छ । सोमबार बेङगलुरुबाट इन्जिनियरिङ पढ्दै गरेका २१ वर्षीय विशाल कुमार र मंगलबार उत्तराखण्डबाट १९ वर्षीया श्वेता सिंह पक्राउ परेका थिए । सिंहलाई उक्त काण्डकी प्रमुख पात्र ठानिएको छ ।

एक वर्षभित्र अनलाइन एपमा मुस्लिम महिलालाई लिलामीमा राखिएको यो दोस्रो घटना हो । ६ महिनाअघि समेत यसरी नै ‘सुल्ली डिल्सु’ नामक एपमा झण्डै ८० महिलालाई बिक्रीमा राखिएको थियो । तर उक्त प्रकरणमा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

मुस्लिम महिलाका लागि अपमानजनक शब्द मानिने ‘बुल्ली बाई’ राखेर बनाइएको एपमा तस्वीरसहित सयभन्दा बढी महिलालाई लिलामीमा राखिएको समाचार बाहिर आएपछि भारत सरकारले यसबारे छानबिन गरिरहेको छ ।

केही दिनयता भारतका मुस्लिम महिलाले अनुमतिबिना आफ्नो तस्वीर राखेर माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहब नामक सफ्टवेयरमा ‘बुल्ली बाई’ एप सिर्जना गरेको बताएका छन् ।

आइतबार आफू समेत उक्त एपको निशानामा परेको भन्दै उजुरी लिएर प्रहरीसमक्ष पुगेकी दिल्लीस्थित पत्रकार इस्मत आराले बताएकी छिन् । उनले बुल्ली बाईमार्फत् मुस्लिम महिलामाथि दुर्व्यवहार गर्न खोजिएकोसमेत आरोप लगाएकी छिन् ।