एजेन्सी, २१ पुस । न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेट ८ विकेटले जितेर बंगलादेशले इतिहास रचेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्धको क्रिकेट खेल अहिलेसम्म जितेको थिएन ।

न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले १७ ओभरमा २ विकेट गुमाएर हासिल ग¥यो ।

पहिलो पारीमा बंगलादेशले ४५८ रन बनाउँदा न्युजिल्याण्ड १३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले १६९ रन मात्र बनाउन सक्यो । उसका लागि विल यंगले ६९ रन बनाए ।

यो ऐतिहासिक जितको हिरो बंगलादेशका इबादत हुसेन बनेका छन् । उनले ५६ रन खर्चिएर ६ विकेट झारे ।

घरेलु मैदानमा न्युजिल्याण्ड हारेको २०१७ पछि पहिलो पटक हो । २०१७ मा विलिंगटनमा न्युजिल्याण्डलाई दक्षिण अफ्रिकाले हराएको थियो ।

हालसम्म बंगलादेश देश बाहिर ६१ टेष्ट म्याच खेलेको छ । यो उसको छैठौं जित हो । यसअघि न्युजिल्याण्डसँग बंगलादेशले १५ टेष्ट म्याच खेलेको थियो । तीमध्ये १२ वटा खेलमा हारेको थियो भने तीनवटा ड्र भएका थिए ।