काठमाडौं, २१ पुस । बिग बास लिग (बिबिएल) अन्तर्गत बुधबारको खेलमा सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स घरेलु टोली एडिलेड स्ट्राइकर्ससँग ७ विकेटले पराजित भएको छ ।

१२७ रनको विजयी लक्ष्य एडिलेडले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । एडिलेडका लागि म्याथ्यु सर्टले अर्धशतकीय पारी खेले ।

७२ रनमा अविजित रहेका सर्टले ४४ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे । म्याट रेनशाले १९, हेनरी हन्टले १८ रनको योगदान दिए ।

होबार्टका लागि सन्दीपले ४ ओभरमा २२ रन खर्चिंदै २ विकेट हात पार्दा एक विकेट डार्सी सर्टको नाममा रह्यो ।

यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको होबार्टले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।होबार्टका लागि डार्सी सर्टले सर्वाधिक ३२ रनको योगदान दिए । टिम डेविडले २८ र मिचेल ओवेनले १६ रन जोडे ।

एडिलेडका लागि कप्तान पिटर सिडेलले ५, राशिद खानले २ तथा म्याथ्यु सर्ट र ह्यारी कोन्वेले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै एडिलेड ९ खेलमा १३ अंकका साथ छैटौं स्थानमा उक्लिँदा समान खेलबाट १७ अंक जोडेको होबार्ट चौथो स्थानमा छ ।