मणिपाल मेडिकल कलेज अतिरिक्त शुल्क फिर्ता गर्न सहमत

विराटनगर, २१ पुस । बढी शुल्क असुलेको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेकै दिन बुधबार पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ ।
कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो ।
बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच शुल्क फिर्ता गर्ने सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ ।
मणिपालले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुका साथै कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएको वार्तामा सहभागी विद्यार्थीहरुले बताएका छन् ।
तर कलेज प्रशासनले विद्यार्थीसँग लिइसकेको अतिरिक्त शुल्क अर्को वर्षको शुल्कमा मिलान गर्ने सहमति जनाएको छ ।
अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले एक महिना लामो आन्दोलनपछि विद्यार्थीको हकअधिकार फिर्ता ल्याउन सकेको दाबी गरे ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको छ । तर, मणिपालले भने होस्टल, सेक्युरिटीलगायतका नाममा ६ लाख रुपैयाँसम्म बढी असुल गरेको विद्यार्थीहरुको भनाइ छ ।
विभिन्न मेडिकल कलेजले होस्टल अनिवार्य गर्नेलगायत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाइरहेका छन् । चिकित्सा शिक्षा आयोगले पुस ९ गते एक सूचना जारी गरेर होस्टल र मेस अनिवार्य नगर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।
बुधबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष राजेश गुरुङ, विद्यार्थीहरु रितेशकुमार यादव र अनिल महतोको रोहबरमा प्रशासन र आन्दोलनरत विद्यार्थी संगठनबीच सहमति भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


