जनकपुरधाम, २१ पुस । राज्यद्वारा आफ्नै निहत्था जनतामाथि गोली प्रहार गर्नु निन्दनीय रहेको लोकतान्त्रिक समाजवादी पार्टीका असन्तुष्ट नेताहरूले टिप्पणी गरेका छन् ।

बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलालाई डेलिगेशन दिन पुगेका नेताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा राज्यपक्षद्वारा गरिएको गोली प्रहारको घटना निरंकूशता र अत्याचारको पराकाष्ठा रहेको समेत ठहर गरेका छन् ।

पूर्व राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले यस्तो निर्मम घटनालाई कथमपि स्वीकार गर्न नसकिने बताउँदै राज्यका प्रशासक वा सिपाहीलाई आत्मरक्षा गर्नुपर्ने अनियन्त्रित परिस्थितिमा बाहेक त्यसो गर्ने कुनै अधिकार नरहेको समेत प्रजिअ वास्तोलालाई अवगत गराए ।

उनले आन्दोलनलाई वार्ता, वैचारिकता र सहमतिले सम्वोधन गरी नियन्त्रित गर्नुपर्नेमा गोली प्रहार गर्नु सम्बन्धित प्रशासनिक अधिकारी र सरकारको असफलता रहेको बताए ।

त्यस्तै, पूर्व संविधान सभा सदस्य डा. विजय कुमार सिंहले शान्तिपूर्ण आन्दोलनको जिम्मेवारी मात्र आन्दोलनकारीहरूको नरहेको र यसमा राज्यपक्षसमेत संवेदनशील हुनुपर्ने आवश्यकता रहेको बताए ।

लोसपाका असन्तुष्ट युवा नेता उमेश कुमार मण्डलले प्रहरी प्रशासनद्वारा कुनैपनि आन्दोलन अथवा बन्द हडतालको क्रममा महिलामाथि समेत हातपात एवं कुटपिट गर्नु निन्दनीय रहेको बताए । उनले अबउपरान्त यस्तो घटना दोहरिए आफूहरु चुप लागेर नबस्ने समेत बताए । नेता मण्डलले प्रशासनलाई संयमित हुन आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी वास्तोलाले पोर्ताहाको घटनामा प्रहरी प्रशासनद्वारा सामान्य त्रुटि भएको स्वीकार्दै अबदेखि यस्ता घटनाक्रममा संयमता अपनाउन आग्रह गर्ने बताए ।

प्रजिअ वास्तोलालाई डेलिगेशन बुझाउन योगेन्द्र राउत, विभा ठाकुर, विन्दु ठाकुर, बिमला साह, रामजी राय, धिरेन्द्र सिंह, सतिशलाल दास, हेमन्त साह, भोला झा, राधिका साह, रामचन्द्र साहलगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।