जनकपुरधाम, २१ पुस । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले नेपाली कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा सभापति पदका लागि पजियारले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले पूर्व उपसभापति विमलेन्द्र निधिको समुहबाट जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।

सभापति पदका लागि पजियारको प्रस्ताव पार्टीका प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले गरेका छन् भने जिल्ला सभापति महेशशंकर गिरीले उनको प्रस्तावलाई समर्थन गरेका छन् ।

सभापतिका उम्मेदवार पजियारले पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए । उनले सभापतिमा तिनजना उम्मेदवार भएपनि स्वयं पहिलो चरणमै जत्ने दावी समेत गरे ।

पार्टी सुदृढीकरणका लागि आफ्नो जिल्ला सभापतिमा उम्मेदवारी रहेको पजियारले बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । समाज रुपान्तरण र समाबेशी समाजको निर्माणका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

यसअघि सम्पन्न प्रदेश अधिवेशनमा सरकार र सत्ताको दम्भ तथा धाकधम्कीहरु आएको बताउँदै पजियारले जिल्ला अधिवेशनमा त्यस्तो केही नचल्ने बताए ।

उम्मेदवारी घोषणा सभामा बाोल्दै मन्त्री रामसरोज यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गरेका छन् । उनले पजियारको नेतृत्वमा जिल्लामा कुशल नेतृत्व ल्याउन मतदातासँग आग्रह समेत गरे ।

प्रदेश २ का ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेको अवस्थामा पुष २७ गते हुने भनिएको जिल्ला अधिवेशन अब माघ १५ गते हुने भएको छ ।

धनुषा जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ । जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पुर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव बिशेश्वर यादव समेत आकांक्षी देखिएका छन् ।यद्यपी उनीहरुले भने अहिले उम्मेदवारी भने घोषणा गरेका छैनन् ।