काठमाडौं, २० पुस । कोरोनाविरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।

कतार एयरलाइन्सको नियमित उडानमार्फत मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज मंगलबार दिउँसो नेपाल आएको जानकारी दिए ।

सिरिन्ज अभावकै कारण काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई १३ पुसदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो ।

फाइजर खोपमा प्रयोग हुने सिरिन्ज आइपुगेपनि काठमाडौं उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ ।

थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाडौं, भक्तपुर र ललितपुरका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले जानकारी दिए । २/३ दिनभित्रै यी तीन जिल्लाका बालबालिका लागि फाइजर खोप दिइने उनले बताए ।

उनका अनुसार फाइजर खोपको दोस्रो डोज सुनिश्चिता गरेर काठमाडौं उपत्यकाका बालबालिकालाई मात्रै फाइजर खोप दिन लागिएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका बालबालिकालाई पुस १३ गतेदेखि नै फाइजर खोप दिने निर्णय गरेको थियो ।

फाइजर खोप कोभ्याक्स सुविधाअन्तर्गत ९ पुसमा ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुगेको थियो ।