स्पेनिस क्लब बार्सिलोनाका थप दुई खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, २० पुस । स्पेनिस क्लब बार्सिलोनाका थप दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा पेड्री र हालै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट भित्रिएका फेरान टोरेस छन् । दुवै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।
ला लिगाअन्तर्गत शनिबार रियाल मार्लोकाविरुद्ध १–० को जित निकाल्दा बार्सिलोनाका १७ खेलाडी उपलब्ध थिएनन् । तीमध्ये १० जना कोरोना संक्रमित थिए ।
बार्सिलोनाले दुवै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको बताएको छ । बार्सिलोनाले कोपा डेल रे अन्तर्गत अन्तिम ३२ मा लिनारेस डिपोर्टिभोसँग बुधबार र ला लिगाअन्तर्गत शनिबार ग्रानाडाविरुद्ध खेल्दैछ ।
लिगमा १९ खेलबाट ३१ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


