एजेन्सी, १८ पुस । दक्षिण अफ्रिकाको राजधानी केप टाउनस्थित संसद भवनमा आगलागी भएको छ ।

संसद भवनबाट ठूलो आगोको मुस्लो निस्केको समाचार संस्था बिबीसीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन ठूलो संख्यामा दमकल र अग्नि नियन्त्रक परिचालन गरिएको छ ।

आगलागी के कारण भएको हो भन्ने कुनै जानकारी दिइएको छैन । प्रहरीले आगलागीको कारण पत्ता लगाउन जाँच सुरु गरेको जनाएको छ ।

घटनामा हालसम्म कोही पनि हताहत नभएको बताइएको छ ।

दक्षिण अफ्रिकाको संसद भवन तीन हिस्सामा निर्माण गरिएको छ । सबैभन्दा पुरानो हिस्सा सन् १८८४ मा बनाइएको थियो । बाँकी दुई हिस्सा १९२० र १९८० मा निर्माण गरिएको थियो ।