झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ देखि ३० गतेसम्म आयोजना हुने

काठमाडौं, १८ पुस । कोरोना संक्रमणका कारण दुई वर्षदेखि रोकिएको झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ देखि ३० गतेसम्म आयोजना हुने भएको छ ।
मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए । विजेता टिमले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद ६ लाख ५ हजार पाउने पत्रकार सम्मेनमा जानकारी गराइयो ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख लागत अनुमान गरिएको छ । महासचिव पौडेलको नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


