वैष्णोदेवी मन्दिर परिसरमा भागदौड हुँदा १२ को मृत्यु, २० जना घाइते

एजेन्सी, १७ पुस । भारतको जम्मु काश्मिरस्थित माता वैष्णोदेवी मन्दिर परिसरमा श्रद्धालुको भीडको कारण भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार घटना आज बिहान साढे २ बजे घटेको हो ।
एक विवादका कारण एकले अर्कालाई धक्का दिएको र यसैबाट भागदौडको स्थिति सिर्जना भएको जम्मु काश्मिरका डिजिपी दिलबाग सिंहले बताए ।
मारिएका मानिस दिल्ली, हरियाणा, पन्जाब र जम्मु काश्मिरका रहेका छन् । घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घाइतेहरूलाई अस्पताल लगिएको छ ।
जम्मु काश्मिरका उपराज्यपाल मनोज सिन्हाले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै परिवारजनलाई १०/१० लाख र घाइते भएकाहरूको उपचारका लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

