एजेन्सी, १७ पुस । भारतमा पछिल्लो २४ घण्टामा ओमिक्रोनका १६१ नयाँ सक्रमित भेटिएका छन् । योसँगै देशमा ओमिक्रोन संक्रमितको कुल संख्या १ हजार ४३१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २३ राज्य र केन्द्र शासित प्रदेशमा ओमिक्रोनका १ हजार ४३१ संक्रमित भेटिएका हुन् ।तीमध्ये ४८८ जना संक्रमणबाट निको भएका छन् ।

ओमिक्रोनको संक्रमण महाराष्ट्र र दिल्लीमा सबैभन्दा बढी छ । महाराष्ट्रमा हालसम्म ४५४ ओमिक्रोन संक्रमितहरू भेटिएका छन् । योसँगै दिल्लीमा ओमिक्रोन संक्रमित बढेर ३५१ पुगेका छन् ।

केरलामा ११८ ओमिक्रोन संक्रमित भेटिएका छन् । यो ओमिक्रोनबाट तेस्रो सबैभन्दा प्रभावित राज्य हो र गुजरात ११५ संक्रमितसहित चौथो राज्य हो ।

भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८१ रहेको छ ।