चीनमा खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाइने

एजेन्सी, १६ पुस । चिनियाँ खेलकुदको सर्वोच्च निकाय जिएएसले राष्ट्रिय टोली र उमेर समूहमा खेल्ने खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
समाजमा राम्रो उदाहरणका रूपमा प्रस्तुत हुन सहयोग हुने भन्दै चीनको राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु नहान्न निर्देशन दिइएको हो ।
यो निर्णयपछि हाल ट्याटु खोपेका खेलाडीले पनि अब हटाउनु अथवा लुकाउनु पर्नेछ । चीनका स्टार डिफेन्डर झाङ लिङपेङलाई यसअघि नै ट्याटु छोप्न निर्देशन दिइएको थियो ।
चीनले सन् २०१८ यता नै खेलका दौरान ट्याटु नदेखाउन प्रसारण गर्ने संस्थाहरूलाई निर्देशन दिएको थियो । त्यसयता व्यावसायिक फुटबल खेलाडीले जर्सीले नै ट्याटु छोप्दै आएका थिए ।
अब जिएएसले ट्याटुमा नै प्रतिबन्ध लगाउँदै ट्याटु खोपी सकेका खेलाडी पनि हटाउनुपर्ने नियम ल्याएको छ । चीनमा ट्याटुले संस्कृतिमा विकृति ल्याउने विश्वास गरिन्छ ।
चिनियाँ समाजमा ट्याटु खोप्नुलाई असभ्य मानिन्छ । चीनको सत्तासीन कम्युनिस्ट पार्टीले ट्याटुलाई मान्यता नदिए पनि पछिल्लो समय युवा पुस्तामाझ भने यो लोकप्रिय बन्दै गएको छ ।
चीनमा गत वर्ष ट्याटु कुँदेका र लामो कपाल पालेका पुरुष खेलाडीलाई टेलिभिजनमा नदेखाउन निर्देशन जारी गरिएको थियो । गत डिसेम्बरमा विश्वविद्यालय स्तरको महिला फुटबल खेलमा खेलाडीले कपालमा रंग हालेको थाहा पाएपछि खेल रद्द गरियो ।
राष्ट्रिय युवा क्याम्पस लिगले विज्ञप्ति जारी गर्दै खेलाडीले ट्याटु खोपेको, कपालमा रंग हालेको, फरक कपाल बनाएको वा कुनै पनि सामग्री प्रयोग गरेको खण्डमा अयोग्य ठहरिने बताएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


