काठमाडौं, १६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारको निकै रोमाञ्चक विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले एपिएफ फुटबल क्लबसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

शुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य बन्यो । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दिनेश हेन्जनको पासमा गोल गरेको हुन् ।

६७औं मिनेटमा विकी तामाङले गोल गर्दै एपिएफलाई बराबरीमा ल्याए । उनले कप्तान नविन लामाको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए पनि रिबाउन्ड बललाई पोस्टको दिशा दिएका थिए ।

यो नतिजासँगै ७ खेलमा ११ अंक जोडेको आर्मी चौथो र एपिएफ ६ अंकका साथ ११औं स्थानमा कायम छन् ।