एमसीसी सम्झौता देशका लागि राष्ट्रघाती: ऋषिराम कट्टेल

जनकपुरधाम, १५ पुस । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकताको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोह जनकपुरधाममा हुन लागेको छ ।
बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा पुस १७ देखि १९ गतेसम्म दोस्रो राष्ट्रिय सम्मेलन समापन गर्न लागेको पार्टीका संयोजक ऋषिराम कट्टेलले जानकारी दिए ।
सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा भर्चुअल माध्यमबाट भइसकेको कट्टेलले बताए । गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेश स्तरीय ६ वटा समुह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथी छलफल सम्पन्न भइसकेको छ । जनकपुरधाममा हुने दोस्रो राष्ट्रिय सम्मेलनमा यी प्रतिवेदनहरुलाई पारित गरी नयाँ नेतृत्व चयन गरिने कट्टेलले बताए ।
पुष्पलालको क्रान्तिकारी विरासत बोकेको र आदर्श, सिद्धान्त, नीति, नैतिकता जस्ता उच्चतम मानवीय र सामाजिक मूलयमान्यताकासाथ अविचलितरुपमा क्रियाशील नेपालको एक मात्र कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेको उनले दावी समेत गरे ।
अर्को प्रसंगमा बोल्दै संयोजक कट्टेलले एमसीसी देशका लागि राष्ट्रघाती रहेकोले यो सम्झौता कार्यान्वयन नहुन दिनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । देशमा एमसीसी जस्तो राष्ट्रघाति साम्राज्यवादी योजना भित्रयाउने षडयन्त्र भईरहेको बताउँदै उनले चिनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि नेपालमा एमसीसी कार्यान्वयन तर्फ अमेरिका लागेको दावी गरे ।
उनले भने, ‘चिनको बढ्दो सामरिक शक्तिलाई निस्तेज गर्ने उद्देश्यले अमेरिकाले एमसीसीको नाममा नेपाललाई रणनीतिक कृडास्थल बनाउन लागि परेको छ, त्यो बन्न दिनु हुँदैन ।’
उनले भने,‘सिङ्गो कम्युनिष्ट आन्दोलन अहिले विसर्जनवादको चपेटामा परेको छ । मार्क्सवाद लेनिनवादको रक्षा र विकासको निम्ति कम्युनिष्ट आन्दोलनको पुनर्गठनको गह्रौ जिम्वेदारी हाम्रो काँधमा छ । २०६२/६३ को जनआन्दोलनले गणतन्त्र स्थापना गरेपनि देशको राज्यसत्ता सामन्ती दलाल तथा नोकरशाही पूंजीवाद कै हातमा छ । नयाँजनवादी क्रान्तिका कार्यभार पूरा भएका छैनन् । देश विदेशीको रणनीतिक कृडास्थल बनिरहेको छ । देशको स्वतन्त्रता र स्वाधीनता माथी गम्भिर आक्रमण भइरहेको छ । यसको विरुद्ध बृहत संयुक्त जन आन्दोलनको यात्रा तय गर्नुपर्ने आवश्यकता छ ।’
संयोजक कट्टेलले देशको किसान आन्दोलनलाई केन्द्र बिन्दुमा राखेर सबै क्रान्तिकारी कम्युनिष्ट,बामन्थी र लोकतान्त्रिक देशभक्तहरुलाई गोलबद्धगरी देशको स्वाधिनताको रक्ष, जनतन्त्र र जनजीविकाका समस्या हल गर्ने नीति र योजनासाथ आफूहरुले सम्मेलन समापन गर्न लागेको जिकिर समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


