भारतमा थप ९ हजार १९५ संक्रमित थपिए

एजेन्सी, १४ पुस । भारतमा कोरोना संक्रमणबाट थप ९ हजार १९५ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना संक्रमित संख्या ३ करोड ४८ लाख ८ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार २ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा ७ हजार ३४७ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४२ लाख ५१ हजार २९२ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् ।
भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्व ४३ करोड १५ लाख ३५ हजार ६४१ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


