एजेन्सी, १३ पुस । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित ५ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका ७ स्थानमा बन्दुक चलाएको थियो । डेनभरका प्रहरी प्रमुख पल पाजेनले पत्रकार सम्मेलनमा बताएअनुसार गोली हानाहान सोमबार साँझ ५ बजेतिर सुरु भएको थियो ।

घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन् । पहिलो गोलीबारी घटनाको केही समयपछि, १२ औं एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो । डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी सुरु गरेको थियो ।

लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ । गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।