नेपाली खेलाडी सबै प्रकारको खेल खेल्न सक्षम छ: मन्त्री गहतराज

काठमाडौं, १३ पुस । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाली खेलाडी सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभाको उद्घाटन गर्दै मन्त्री गहतराजले प्राकृतिक रूपमै उच्च मनोबल भएका नेपाली खेलाडीमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुन् ।
एक फरक प्रसंगमा बोल्दै मन्त्री गहतराजले खेल क्षेत्रमा राजनीति गरिनु दुःखद भएको उल्लेख गरे । विगतदेखि नै खेलाडीलाई सत्ता निकटका व्यक्तिहरूले गलत रूपमा प्रयोग गर्दै आइरहेको जिकिर गर्दै मन्त्री गहतराजले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनीति मौलाएकाले अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गरे ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दीर्घकालीन असर गरेको मन्त्री गहतराजले बताए । समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्दालाई प्राथमिकतामा राखेर हेरिनुपर्नेमा अदालतको ढिला सुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री गहतराजले असन्तुष्टि जनाए ।
उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षासमेत व्यक्त गरिन् । सरकारले राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोही विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्दामाथि बहस भएन । उक्त मुद्दा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसमेतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


