जनकपुरधाम, १३ पुस । प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि समिति गठन गरिएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज कुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।

सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नामकरण र राजधानीको प्रस्ताव अध्ययन गर्न दलिय सहमतिको आधारमा समिति गठन गरेका हुन् ।

समितिको सभापतिमा सभामुख यादव, उपसभापतिमा उपसभामुख उपमा देव रहेकी छन् । त्यस्तै, सदस्यहरुमा भने उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्वर साह, विन्देश्वर प्रसाद यादव, सत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, शुन्दर बहादुर विश्वकर्मा र सुरिता साह रहेकी छन् ।

समितिले नामकरण र राजधानीका लागि प्रदेशसभामा पेश भएको प्रस्ताव अध्ययन तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरी निर्णयार्थ पेश गर्ने विषय यकिन गरी पेश गर्नेछन् । यसका लागि समितिलाई १५ दिनको समयावधि निर्धारण गरिएको छ ।

समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरुसँग सहयोग लिन सक्ने सभामुख यादवले बताए ।

प्रदेशको नामकरणका लागि ‘मधेश प्रदेश’,‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेश भएको छ । त्यस्तै नामका लागि जनकपुरधाम र वीरगञ्ज प्रस्ताव पेश भएको छ ।